काठमाडौं- नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन दौडधुप सुरु भएको छ। हालका प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहका ब्याचीहरू ३० वर्षे अवधि हटाउन दौडधुपमा लागेका हुन्। उनलाई ब्याचमेटहरूले समेत सहयोग गर्ने बुझिएको छ।
आईजी सिंहका ब्याचमेटहरू अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), नायव महानिरीक्षक (डीआईजी) र वरिष्ठ उपरीक्षक (सएसप)सम्म छन्। उक्त ब्याचका सबै अधिकृत आगामी चैतमा ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जाँदै छन्।
यदि ३० वर्षे सेवा अवधिको प्रावधान खारेज भएर उमेर र पदावधिको हद मात्र बाँकी रहे ती सबै अधिकृत सेवामा कायम रहनेछन्। त्यही भएर सेवा अवधि बढाएर ३२ वर्ष बनाउने, उमेर हद राख्ने वा पदावधि ३० वर्ष बनाउनुपर्ने भन्दै आईजीसहित ब्याचीहरू लागिपरेका हुन्।
हालको प्रहरी ऐन र प्रहरी नियमावलीअनुसार प्रहरी कर्मचारी उमेर हद, पदावधि र ३० वर्षे सेवाअवधि गरी ३ कारणले अनिवार्य अवकाश हुन्छन्। त्यसैले उनीहरूले ३० वर्षे प्रावधान हटाएर उमेर र पदावधिको हद मात्र लागू गर्न दौडधुप तीब्र पारेको स्रोत बताउँछ।
अहिलेको अवस्थामा यदि ३० वर्षे सेवा अवधि हटेमा सिंहले आगामी २ वर्ष प्रहरी महानिरीक्षक हुने अवसर प्राप्त गर्नेछन् । नहटे सिंह आगामी चैतमा घर जानेछन् भने सिंहका ब्याचमेट ४ जना एआईजीहरू २० साउन २०७९ देखि २५ कात्तिकसम्ममा उमेर हदका कारण आफ्नो कार्यकाल पूरा नगरी सेवा निवृत्त हुनेछन् ।
त्यसैले उनीहरूले नै ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गर्न दौडधुप तीब्र बनाएका हुन् । गृहमन्त्री बालकृष्ण खाणले नै १९ वैशाखमा नेपाल प्रहरीको नियमावली संशोधन गर्ने सङ्केत दिएका थिए । त्यसपछि लगत्तै प्रहरी नियमावली संशोधनको तयारी भएको थियो ।
गृहमन्त्री खाणले सिंह र सशस्त्र प्रहरीका राजु अर्याललाई आईजीको शपथ खुवाउँदै गर्दा नियमावलीहरू संशोधन हुने बताएका थिए, जसमा ३० वर्षे सेवा अवधि हटाउने र पदावधि घटाउने तयारी भएको सङ्केत गृहमन्त्री खाणको थियो ।
गृहमन्त्री खाणको सङ्केतलगत्तै तयारी अवस्थामा रहेको प्रस्तावित व्यवस्था गृह मन्त्रालयमार्फत अगाडि बढेको प्रक्रिया प्रधानमन्त्री कार्यालयमा पुगिसकेको स्रोतले जनाएको छ। प्रस्तावित ऐनमा पदावधिबारे प्रहरी महानिरीक्षक ३ वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक ४ वर्ष, प्रहरी नायव महानिरीक्षक ५ वर्ष, प्रहरी वरिष्ठ उपरीक्षक ६ वर्ष र प्रहरी उपरीक्षक १० वर्ष रहने व्यवस्था गरिएको छ।
प्रस्तावित व्यवस्था लागू भएपछि आईजीलाई उमेर हदले अवरोध नगरे ३ वर्ष प्रहरी कमाण्ड सम्हाल्न पाउनेछन्। प्रहरीमा उमेर हद प्रहरी महानिरीक्षक ५८ वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक ५७ वर्ष, प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक ५६ वर्ष र प्रहरी उपरीक्षकसहित तल्लो दर्जाका लागि ५५ वर्ष रहने प्रस्ताव गरिएको छ।
यसअघि प्रहरीमा महानिरीक्षकको उमेर हद ५७ र एआईजीको ५६ वर्ष थियो ।






















