images
images
  • ‘जनयुद्ध’मा छोरा गुमाएका साउँदसहित शुक्लाफाँटाका ११ जना एमालेमा, इन्चार्ज भट्टले स्वागत गर्ने

    महेन्द्रनगर- नेकपा (माओवादी) केन्द्र परित्याग गरेका शुक्लाफाँटा नगरपालिका–६ का खडकसिंह साउँदसहित ११ जना नेकपा एमाले प्रबेश गर्न लागेका छन् । आज (आइतवार) अपरानन्ह एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनीहरुलाई पार्टीमा भित्र्याउने कार्यक्रम छ । तीन दिन अघि मात्र साउँदलगायत ११ जनाले माओवादी परित्याग गरेको घोषणा गरेका थिए ।

    त्यतिबेला साउँद लगायत ११ जनाले घरायसी कारणले पार्टी परित्याग गरेको बताएका थिए । साउँदले ‘जनयुद्ध’ मा छोरा गुमाएका थिए । ‘पार्टीमा नयाँ मान्छे, नेताका वरिपरि घुम्ने, फेसबुकमा ठूला माओवादी पल्टिनेहरू हाबी भएको र पुराना बलिदान गरेका नेता–कार्यकर्तालाई पाखा लगाइएको’ भन्दै उनले माओवादी छाडेका थिए ।

    एमाले प्रबेश गर्नेहरुमा यसअघि माओवादीको नगर कमिटी सदस्य रहेका साउँदसँगै नवलसिंह ऐर, बसन्ती साउँद, सरिता चन्द, राधिका चालिसे, हर्कसिंह धामी, जयबहादुर धानुक पूर्व वडाध्यक्ष गणेशबहादुर कार्की, पूर्व वडा सचिव मदनराज जोशी, कोषाध्यक्ष भवानीदत्त जोशी, वडा सदस्य देवदत्त जोशी लगायत रहेको एमालेले जनाएको छ ।

    शुक्लाफाँटा नगर सम्मेलनको विवाद समेत अझै साम्य नभएको बेला नेता–कार्यकर्ता पार्टी परित्याग गर्न थालेका छन् । शुक्लाफाँटामा पूर्व सांसद टेकेन्द्रप्रसाद भट्ट र नेता लोकेन्द्र ऐरीको छुट्टाछुट्टै गुटको विवादले नगर कमिटी सर्वसम्मत बन्न सकेको छैन भने चुनाव समेत गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images