काठमाडौं- कैलालीमा फेरी अर्का एक युवकको घाँटी रेटेर हत्या भएको छ । टिकापुरका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउदै फेरी अर्का युवकको विभत्स हत्या भएको हो ।
जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव शनिबार फेला परेको हो ।
अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो । हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।
तर हत्यामा संलग्न रहेको भन्दै एकजनाले आफ्नो साथीसँग गरेको टेलिफोन संवाद सार्वजनिक भएको छ । जहाँ मनोज नामका एकजनाले फोन गरेका छन् । उनले आफूहरुले नै हत्या गरेको बताएका छन् ।
उनले हत्यापछि आफूहरु भारत बैंङलुर जान लागेको र रुपडिया बोर्डर पुगेको बताएका छन् । प्रहरी अधिकारीहरुद्वारा उपलब्ध फोन रेकर्डमा मनोजले आफूहरुले नै हत्या गरेको र सबैजना भारत जान लागेको बताएका छन् ।
सो अडियोमा ‘बक्स’को कुरा गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार बक्स भनेको लागुऔषध हुन सक्छ । सो समूह र मृतकको कनेक्सन लागुऔषधसँग भएको हुन सक्ने र मृतकले लागुऔषध लुकाएको आरोपमा हत्या गरेको हुनसक्ने प्रहरी दाबी छ ।
मनोज नामका व्यक्तिले आफूनिकटकालाई गरेको फोनको अडियो रेकर्ड लिक भएपछि प्रहरीलाई समेत अनुसन्धानमा सहजता भएको हो । प्रहरी अधिकारीहरुले अडियोका आधारमा अपराधीको पहिचान गरिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।


विश्व खबर 



















