काठमाडौं । प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा दलहरुले आन्तरिक छलफल तीव्र बनाएका छन् ।
विपक्षी दलहरु वैकल्पिक सरकार बनाउने प्रयासमा जुटेका छन् भने सत्तारुढ एमालेका नेताहरुले जनता समाजवादी पार्टी (जसपा)ले साथ दिए दाबी गर्ने बताएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रुपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिकृया दिएका हुन् ।
सिंहदरबारमा आफू पक्षीय सांसदको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष ठाकुरले पत्रकारलाई सानो प्रतिकृया दिँदै भने, ‘पार्टीमा छलफल भएपछि ठोस कुरा भन्न सकिन्छ, आजै उपेन्द्र यादवसँग पनि छलफल हुँदैछ ।’
जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि वैकल्पिक सरकार दिनुपर्ने बताएका छन् । संसद, संविधान र लोकतन्त्रको रक्षा आजको अहम प्रश्न भएको भन्दै उनले ट्वीटरमा लेखेका छन्, ‘सबैले आवस्यक त्याग र बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६९५०को वैकल्पिक सरकार दिऊ १’
नेपाली कांग्रेसमा पनि जसपाको नेतृत्व स्वीकार गरेर भए पनि वैकल्पिक सरकार बनाउनुपर्ने मत छ । यसबारे छलफल गर्न पदाधिकारी बैठक सुरु भएको छ ।
तर स्वयं ठाकुरले भने केही बोलेका छैनन् । बरु प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेलगतै बालुवाटार पुगेको र ठाकुर पक्षको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओली नै दोहोरिने दाबीहरु आइरहेका छन् ।
ठाकुर निकट जसपा नेता सुरेन्द्र यादवले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने र संविधान संशोधनका लागि आयोग बनाउने सैद्धान्तिक सहमति दिएको भन्दै भने, ‘बाँकी कुरा आज सार्वजनिक हुन्छ होला ।’
ठाकुर पक्षका एक सांसदले भने जसपाको नेतृत्वमा सरकार बाबुराम भट्टराई(उपेन्द्र यादवहरुको एजेण्डा भएको बताए । त्यसका लागि उनीहरुले नै पहल गर्नुपर्ने उनको तर्क छ ।
‘चाहे तपाई घमण्डी भन्नुस, चाहे स्वाभिमानी भन्नुस्, नेतारुको दैलो चहारेर हिड्ने स्वभाव महन्थ ठाकुरको होइन’ नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, ‘अहिले ठाकुरजीलाई प्रधानमन्त्री बनाउन चाहेको हो भने अहिलेसम्म त शेरबहादुर देउवा र प्रचण्डको समर्थन ल्याइसक्नुपर्ने होइन र ? ’


विश्व खबर 



















