• प्रधानमन्त्री ओलीलाई कांग्रसले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र


    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
    कांग्रसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

    सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै खोपको बन्दोबस्त गर्न माग गरेका हुन् । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न नसकेको आरोप समेत लगाएको छ ।

    १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अक्सिजन लगाएतका अत्यावश्वक बस्तुमा समेत कालोबजारी र कार्टेलिङ गरेको आरोप लगाएको छ । सभापति देउवाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुनसक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न खोपको सुनिश्चितता गरियोस् ।’

    खोप ल्याउनका लागि कुटनीतिक पहल गर्न माग गर्दै सभापति देउवाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनेका छन् । विज्ञप्तिमा भनिएको छ,‘खोपको सुनिश्चितताका लागि कुटनीतिक पहल गरियोस । खोप आपूर्ति गर्ने व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगले गरियोस ।’

    अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

    त्यस्तै नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ।

    सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार पुगेका थिए।

    प्रतिक्रिया दिनुहोस्