images
images
  • सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

    धनगढी  – सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् ।

    दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए । शाह एमाले संसदीय दलका नेतासमेत हुन् । माधवकुमार नेपाल समूहमा रहेका शाह र गहतराज एमालेमै रहेका छन् ।

    तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सातजना सरकारमा सहभागी थिए । तर, माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुईजनाले राजीनामा दिएका हुन् । पाँचजनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन् ।

    विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।

    पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।

    गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images