images
images
  • धनगढी-टीकापुर जोड्ने हुलाकी सडक बाढीले बगायो

    कैलाली- कैलालीको कान्द्रा नदीमा आएको बाढीका कारण धनगढी-टीकापुर जोड्ने हुलाकी राजमार्गमा क्षति पुगेको छ ।

    स्थानीयकाअनुसार कान्द्रा नदीमा आएको बाढीका कारण कम्तीमा ९० मिटरसम्म सडक बगेको छ । सडक बगेपछि कैलालीको भजनीस्थित नदीवारी रहेका लालबोझीवासीलाई आवतजावतमा समस्या भएको छ । ‘कान्द्रा नदीका कारण भजनी जान नसक्ने स्थानीयलाई व्यापार व्यवसाय, उपचारका लागि धनगढी आउनुपर्ने हुन्छ,’ भजनी–७ लालबोझीका स्थानीय रामप्रसाद डगौराले भने, ‘नदीले सडक बगाएपछि हामी झनै समस्यामा परेका छौं ।’

    उनका अनुसार लालबोझीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने करिव ९० मिटर सडक नदीले बगाएको छ । अझै पनि सडक भाँसिने क्रम जारी छ । सडक बगेसँगै नदी कटान तीव्र बनेको र त्यसले गाउँसमेत असुरक्षित बनेको उनी बताउँछन् । ‘नदीले तीब्र कटान गरिरहेको छ,’ उनले भने, ‘यसरी नै कटान भए एक–दुई दिनमा बस्ती बग्न सक्दछ ।’

    स्थानीयकाअनुसार यसअघि पनि नदीले सडक बगाउने गरेको थियो । ‘तर तटबन्ध गरेपछि कटान रोकिँदा सडक जोगिएको थियो,’ स्थानी रमेश डगौराले भने, ‘यसपटक फेरि सडकमा क्षति पुगेको छ, अब गाउँमा समेत क्षति पुग्न सक्दछ ।’ तटबन्धन गरेर जोगाइएको सडक यसपटक तटबन्धसमेत भत्किएपछि बढी क्षति भएको उनी बताउँछन् ।

    हुलाकी सडक कार्यालय धनगढीका इन्जिनियर पदम मडैले पनि लगातारको बर्षापछि हुलाकी सडक अण्ड अन्तर्गत लालबोझी खण्ड कान्द्रा नदीले बगाएको बताए । उनले नदी तटबन्धन गरिएको ठाउँमा सडक सुरक्षित भए पनि तटबन्धन गर्न बाँकी रहेको स्थानको सडक बगेको बताए । ‘अहिले सडक बगेको स्थानमा यसै बर्षदेखि तटबन्धन गर्ने योजना थियो,’ उनले भने, ‘डिपीआर तयार भइसकेको हुँदा त्यहीँ स्थानमा नदीलाई सुरक्षित बनाएर फेरि सडक निर्माण गरिनेछ ।’

    धनगढी टीकापुर ६२ किलोमिटर हुलाकी सडक भारत सरकारले २०७३ मा निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । भारत सरकारले एकतर्फी सडक निर्माण गरेकोमा अहिले केही स्थानमा ४ लेन र बाँकी स्थान २ लेन बनाउने गरी काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images