काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको तुइलखोलामा पटक–पटक खस्ने पहिरोको दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले ‘नेलिङ’ प्रविधि अपनाउने भएको छ ।
गत वर्षदेखि वर्षायाममा मात्रै नभई हिउँदमा समेत पहिरो खस्न थालेपछि सडक डिभिजनले ठूला ढुङ्गा हटाएर भिरको स्लोप मिलाउने र त्यसपछि किला तथा रड ठोकेर भिरलाई बलियो बनाउने तयारी गरेको हो ।
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार अहिले पहिरोको माथिल्लो भागमा रहेका ठूला ढुङ्गा काटेर हटाउने काम भइरहेको छ ।
ढुङ्गा हटाएपछि थप जनशक्ति र उपकरण परिचालन गरी नेलिङको काम अघि बढाइनेछ ।
पहिरो रोकथामका लागि नेलिङसँगै होरिजोन्टल ड्रेनमार्फत भिरभित्र जमेको तथा रसाएको पानी बाहिर निकालिनेछ । साथै, भूक्षय नियन्त्रणका लागि बायोइन्जिनियरिङ प्रविधि समेत प्रयोग गरिने कार्यालयले जनाएको छ ।
लामिछानेका अनुसार करिब एक महिनाभित्र नेलिङको काम सुरु गर्ने तयारी छ । माथिका ठूला ढुङ्गा हटाएपछि सडक अवरुद्ध हुने जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ ।
यसैबीच, पहिरो नियन्त्रणको काम भइरहेकाले तुइलखोलामा अहिले बिहान ८ः३० देखि बेलुकी ६ बजेसम्म हरेक दुई घण्टामा आधा घण्टा मात्रै सवारी आवागमन खुला गरिएको छ । बेलुकी ६ बजेदेखि बिहान ८ बजेसम्म भने सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेका छन् ।





















