images
images
  • बाँदर–बदेलले अन्नबाली खाए, पाल्पाका किसानले रोजे टिमुर

    काठमाडौं– बाँदर र बदेलले मकै, कोदो लगायतका अन्नबाली सखाप पार्न थालेपछि पाल्पाका किसान टिमुरखेतीतर्फ आकर्षित भएका छन् ।

    वन्यजन्तुले क्षति नपुर्‍याउने, कम मेहनतमा खेती गर्न सकिने र बजारसमेत सहज भएकाले किसानले टिमुरलाई अन्नबालीको विकल्प बनाउन थालेका हुन् ।

    तिनाउ गाउँपालिका–कचलका मीनबहादुर सारुले वनसँग जोडिएका क्षेत्रमा अन्नबाली जोगाउन कठिन भएपछि टिमुरखेती रोजेको बताउनुभयो । रिब्दीकोट गाउँपालिका–ढुस्टुङका तारा बगालेले पनि मकैखेती छाडेर ५० वटा टिमुरका बिरुवा लगाउनुभएको छ ।

    डिभिजन वन कार्यालय पाल्पाका अनुसार जिल्लामा दुई हजारभन्दा बढी किसान टिमुरखेतीबाट लाभान्वित भइरहेका छन् । किसानले टिमुर बिक्रीबाट वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

    कार्यालयले पछिल्ला वर्षमा किसानको मागअनुसार टिमुरका बिरुवा वितरण गर्दै आएको छ। पहिलो वर्ष १० हजार बिरुवा वितरण गरिएकोमा त्यसपछि वार्षिक २० हजारसम्म बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

    डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार जिल्लाका अधिकांश भू–भागमा टिमुरखेतीको सम्भावना छ। एकपटक बोट हुर्काएपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएकाले वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुर सुरक्षित र दीर्घकालीन वैकल्पिक खेती बन्दै गएको छ ।

    यसरी बाँदर र बदेलको आतङ्कले अन्नबाली संकटमा पर्दा पाल्पाका किसानले टिमुरमार्फत खेती जोगाउनेसँगै आम्दानीको नयाँ बाटोसमेत खोजेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images