images
images
  • नेपालमा मानव बेचबिखनको स्वरूप झन् विस्तार हुँदैछः परियार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले नेपालमा मानव बेचबिखनका घटना नियन्त्रण हुनुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचेतक परियारले मानव बेचबिखन अमानवीय तथा राष्ट्रिय लज्जाको विषय भएकाले सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

    विभिन्न प्रतिवेदनलाई उद्धृत गर्दै उनले प्रत्येक वर्ष १५ हजारभन्दा बढी नेपाली महिला, बालबालिका तथा युवा मानव बेचबिखन र आधुनिक दासताका घटनाबाट प्रभावित हुने गरेको दाबी गरे ।

    उनका अनुसार विगतमा भारतका कोठीसम्म सीमित देखिने मानव बेचबिखनको अपराध अहिले वैदेशिक रोजगारी, अध्ययनका लागि जाने अनुमति र सामाजिक सञ्जालको दुरुपयोग हुँदै खाडी, अफ्रिका तथा एसियाका साइबर ठगी केन्द्रसम्म फैलिएको छ ।

    मानव बेचबिखनको स्वरूप परिवर्तन हुनु नेपालको सुरक्षा प्रणालीका लागि ठूलो चुनौती बनेको उनले बताए ।

    सचेतक परियारले गरिबी, बेरोजगारी, आवश्यक सूचनाको अभाव, खुला सीमा, कमजोर अनुगमन, दलालको बदलिँदो शैली तथा पहुँचका आधारमा अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिका कारण मानव बेचबिखन नियन्त्रणमा चुनौती देखिएको बताए ।

    सीमामा कडाइदेखि उद्धार संयन्त्र बलियो बनाउन सुझाव

    मानव बेचबिखन नियन्त्रणका लागि सीमामा निगरानी र कडाइ बढाउनुपर्नेमा परियारले जोड दिए। पीडितलाई छिटो न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउने, मानव बेचबिखनमा संलग्न दलाललाई कडा कानुनी कारबाही गर्ने र सम्बन्धित देशमा प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ ।

    श्रम गन्तव्य मुलुकसँग आवश्यक सम्झौता गरी त्यहाँ समस्यामा परेका नेपालीको उद्धारका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए ।

    उनले स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सके मानव बेचबिखनको जोखिम कम गर्न सकिने बताए। उद्धार गरिएका पीडितको दीर्घकालीन पुनःस्थापना र जीविकोपार्जनका लागि राज्यले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    मानव बेचबिखन नियन्त्रणलाई केवल सुरक्षा र कानुनी विषयका रूपमा मात्र नहेरी रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, सूचना तथा पुनःस्थापनासँग जोडेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा सचेतक परियारले जोड दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images