काठमाडौं– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गोरखाको लक्ष्मीबजारका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।
गत साउन १८ गते परेको अविरल वर्षापछि गोरखाको लक्ष्मीबजारमा पहिरो जाँदा मानसिंह गुरुङको घर क्षतिग्रस्त भएको थियो। विपद्मा परेको उक्त परिवारलाई समितिले रु १ लाख १ हजार १११ सहयोग हस्तान्तरण गरेको हो ।
समितिमा पदमबहादुर गुरुङले आफ्ना स्वर्गीय बुवा लोकबहादुर गुरुङको स्मृतिमा रु १० लाखको ‘लोकबहादुर गुरुङ स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको छ। उक्त अक्षयकोषबाट प्राप्त हुने व्याज रकम सामाजिक सेवा, मानवीय सहयोग तथा विपद्मा परेका व्यक्तिको राहतमा उपयोग गर्ने उद्देश्य राखिएको समितिले जनाएको छ ।
सोही उद्देश्यअनुसार अक्षयकोषबाट प्राप्त व्याज रकमबाट पहिरोपीडित परिवारलाई सहयोग गरिएको हो ।
समितिका अध्यक्ष नरसिंह राना तथा पूर्वअध्यक्ष शेरकुमार मल्लले लक्ष्मीबजारमै पुगेर पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको समितिले जानकारी दिएको छ। स्थानीयवासीले यस्तो सहयोगले विपद्का बेला पीडित परिवारलाई ठूलो राहत मिल्ने बताएका छन् ।





















