काठमाडौं– खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानीको अभावका कारण ५२६ जना रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालमा रहेका रोहिङ्ग्यामध्ये १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन्। उनीहरू काठमाडौंको कपन, लसुनटार, राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेका छन्।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले खुला सीमा र उस्तै हुलियाका कारण पहिचानमा चुनौती रहेको बताउँदै अवैध प्रवेश रोक्न सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको जानकारी दिए।
यसैबीच, प्रहरीले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै करिब १० हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको जनाएको छ। केन्द्रदेखि स्थानीय तहसम्म उद्धार तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ।





















