काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले व्यवसायी दुर्गा प्रसाईँविरुद्ध दायर गरिएको राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा फिर्ता लिने तयारी गरेको छ ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहसचिवलाई मुद्दा फिर्ता लिने कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ ।
सरकारको यो निर्णय कार्यान्वयन भएमा दुर्गा प्रसाईँसँगै उक्त प्रकरणमा मुद्दा खेपिरहेका राप्रपाका पूर्वनेता धवलशमशेर जबरा, रविन्द्र मिश्र लगायत अन्य प्रतिवादीले पनि राहत पाउने भएका छन् ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रसाईँसहित ६१ जनाविरुद्ध विभिन्न अभियोगमा मुद्दा दायर गरेको थियो ।
घटनामा दुई जनाको मृत्यु हुनुका साथै निजी घर, सरकारी सवारीसाधन र सरकारी संरचनामा आगजनी तथा तोडफोड भएको थियो ।
सरकारी वकिलको कार्यालयले ५० जनाविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराध सम्बन्धी अभियोग लगाएको थियो ।
त्यसमध्ये दुर्गा प्रसाईँसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दासमेत दायर गरिएको थियो भने अन्य ११ जनाविरुद्ध आपराधिक उपद्रवको अभियोग लागेको थियो ।
पछि उनीहरू सबै धरौटीमा रिहा भएका थिए ।


विश्व खबर 




















