images
images
  • भ्रष्टाचारमा मुछिएका टेलिकमका तत्कालीन निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका विकल पक्राउ

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ।

    अख्तियारको टोलीले बुधबार दुई जनालाई पक्राउ गरेको अख्‍तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनीहरू विरूद्ध छुट्टाछुट्टै भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता छन्।

    सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
    यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो।

    विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो।

    अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो। विकल एक्लैविरूद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images