दमौली- यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका १५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् । निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिएपश्चात् आज सबै केन्द्रमा सामग्री दिएर खटाइसकिएको निर्वाचन कार्यालय कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार दमौली आसपासका केही मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रमा मतपत्र पनि पुगिसकेको छ । “दमौली बजारकै केही मतदान केन्द्रमा आज मतपत्र लैजानुहुन्छ, अन्यत्र सबै ठाउँमा पुगिसक्यो,” उनले भने ।
प्रमुख ढकालका अनुसार प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका काम हुनेछन् । उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ ।
उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार ३०५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।
उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । भानुको १३ वडामा ४० हजार ८४४ मतदाता छन् । भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र छन् । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका ६ वडामा १३ हजार ६२२ मतदाता कायम भएका छन् ।आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका ६ वडामा १५ हजार ६७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदानस्थल र २२ मतदान केन्द्र छन् ।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता कायम भएका छन् । व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन् । रासस


विश्व खबर 




















