images
images
  • अभिनेत्री शबाना नेपाल आउँदै, को हुन् त उनि ?

    काठमाडौं – भारतीय प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन्। उनी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुनका लागि काठमाडौं आउन भएकी हुन् ।

    आगामी ९ मंसिरदेखिसुरु हुने महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथिको उनलाई आमन्त्रण गरिएको हो । आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्र क्षेत्रमा प्रसिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको जनाएको छ ।

    ‘सामाजिक रुपान्तरणको लागि रंगमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारलाई ‘मास्टरक्लास’ समेत दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जानकारी दिइन् ।

    मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । सुब्बाले महोत्सवले नेपाली रंगमञ्चको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिल्ने बताइन् ।

    साथै अभिनेत्री आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’ का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन् ।

    भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीमध्ये एक आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् ।

    विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’ बाट सम्मान गरिसकेको छ । मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा नेपाल लगायत अन्य देशका २२ वटा नाटकको सहभागिता रहने आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार महोत्सवमा नेपालसहित भारत, भुटान, इटाली, स्पेन, श्रीलंका, रुस, संयुक्त राज्य अमेरिका, उरुग्वे, बेलायत, बेलारुस, इजिप्ट र अर्जेन्टिनाका नाटक समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images