काठमाडौं-आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू गाउँगाउँमा चुनावी अभियानमा लागिसकेका अवस्था छ । तर, कतिपय यस्ता ठाउँ छन्, जहाँ चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कतिपय ठाउँमा गुरु–चेला भिडन्त गर्दै छन् भने कतिपय ठाउँमा पूर्वसहकर्मीहरू भिडन्त गर्दै छन् ।
वितगमा लामो समयसम्म सहकार्य गरेका नेताबीचको चुनावी प्रतिस्पर्धा अहिले चर्चाको विषय बनेको छ । आगामी चुनावमा सबैभन्दा रोचक प्रतिस्पर्धा इलाम क्षेत्र नम्बर– १ मा हुने देखिएको छ, जहाँ गुरु–चेला चुनावी मैदानमा छन् । यस ठाउँमा एमालेले जित्दै आएको हो ।
नेकपा (एकीकृत समाजवादी)बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमालेबाट महेश बस्नेत उम्मेदवार छन् । खनाल र बस्नेत गुरु–चेला पनि हुन् । पहिले बस्नेत खनाललाई जिताउन कम्मर कसेर लाग्ने गरेका थिए । आगामी चुनावमा भने उनै गुरु–चेलाबीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, गुल्मी– २ मा पनि चुनाव रोचक बन्ने भएको छ । त्यहाँ पनि पूर्वसहकर्मीबीच भिडन्त हुने भएको छ । यहाँ एमाले छाडेर एकीकृत समाजवादीमा लागेकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुने भएको हो । विगतमा विष्टका लागि भोट मागेकी झाँक्री यस पटक भने उनै विष्टसँग चुनाव भिड्ने भएकी छन्।
मकवानपुर– १ र २ मा पनि निकै रोचक प्रतिस्पर्धा हुने भएको छ । मकवानपुर– २ मा गुरु–चेला भिड्दै छन् भने १ मा पूर्वसहकर्मी भिड्दै छन् । २ मा गठबन्धनका एकीकृत समाजवादीका विरोध खतिवडा र एमाले युवा नेता महेश बर्तौला भिड्दै छन् । खतिवडा गुरु र बर्तौला चेला हुन् । बर्तौला एमालेमा हुँदा खतिवडाका लागि भोट मागिदिने गरेका थिए । यस पटक भने उनीहरू चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् । मकवानपुर– १ मा भने पूर्वसहकर्मी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह चुनावी प्रतिस्पर्धामा छन् । विगतमा एउटै पार्टी राप्रपामा हुँदा सहकार्य गरेका यी नेताबीच पनि रोचक भिडन्त हुने भएको हो ।
रुपन्देही– १ मा एमालेले टिकट नदिएका घनश्याम भुसालले बागी उम्मेदवार हालेपछि त्यहाँ पनि रोचक प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले समर्थन गरेर माओवादीका उम्मेदवारलाई फिर्ता गराएर भुसालाई समर्थन गरेको छ । भुसालसँग एमालेका सचिव छविलाल विश्वकर्मा भिड्दै छन् । उनीहरू पनि पूर्वसहकर्मी हुन् । उनीहरूको चुनाव पनि निकै रोचक हुने देखिएको छ ।
यसबाहेक पनि दाङ– १ मा एमालेबाट शान्ता चौधरी र नेकपा एसका नेता तथा शहरी विकासमन्त्री मेटमणि चौधरी प्रतिस्पर्धा गर्दै छन् । उनीहरू पनि पहिले एउटै पार्टी एमालेमा हुँदाका सहकर्मी हुन् । उनीहरूको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ । काठमाडौं– ८ को चुनाव पनि रोचक हुने देखिएको छ । पूर्वएमालेका सहकर्मीबीच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो पटक एमालेबाट चुनाव जितेका जीवनराम श्रेष्ठ सत्ता गठबन्धनको एकीकृत समाजवादीबाट चुनाव लड्दै छन् । उनीसँग एमालेबाट काठमाडौं जिल्ला समन्वय समितिका पूर्वप्रमुख शिव राजवैद्य मैदानमा छन् । एमालेले अष्टलक्ष्मी शाक्यलाई टिकट दिए पनि उनले अस्वीकार गरेपछि आइतबार अन्तिम समयमा आएर एमालेले राजवैद्यलाई उठाएको हो ।
पाल्पा क्षेत्र नम्बर– २ मा एमालेका पूर्वनेता सोमप्रसाद पाण्डे एकीकृत समाजवादीबाट चुनाव लड्दै छन्। यहाँ एमालेले ठाकुर गैरेलाई टिकट दिएको छ। उनीहरू पनि पूर्वसहकर्मी हुन् । यस पटकको चुनावमा बढी मात्रामा एमाले र नेकपा एसबीचकै रोचक प्रतिस्पर्धा देखिएको छ। धादिङ– १ मा पनि एमालेमा हुँदा नजिक मानिएका २ जनाबीच भिडन्त हुँदै छ। नेकपा एसबाट उपाध्यक्ष तथा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेबाट भूमि त्रिपाठीको पनि रोचक भिडन्त हुने देखिएको छ। त्यसबाहेक उदयपुर– २, रौतहट– १, बारा– ४, ललितपुर–२, कास्की– २, सल्यान, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा पनि पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ। त्यहाँ एमालेबाट फुटेर गएको एकीकृत समाजवादी र एमालेबीच रोचक प्रतिस्पर्धा हुनेछ।






















