images
images
  • नेता भिरमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडक पुनः अवरुद्ध

    काठमाडौं– दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पुनः अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएरातिको अविरल वर्षासँगै माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा सडक भासिएको छ ।

    आइतबार बिहान खसेको पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो। तर सोमबार बिहानदेखि पुनः पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सडक अवरुद्ध भएपछि सदरमुकाम खाँदबारीबाट भोटखोलातर्फ जाने तथा भोटखोलाबाट खाँदबारी आउने सवारीसाधन बीचमै रोकिएका छन् । यात्रु र स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।

    प्रहरीले अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको जनाएको छ। वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायम रहेको भन्दै सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images