
काठमाडौं । लामो समयदेखि प्रतिद्वन्द्वी रहेका इरान र संयुक्त राज्य अमेरिकाबीच ओमानको मध्यस्थतामा शुक्रबार रोममा पाँचौँ चरणको आणविक वार्ता सम्पन्न भएको छ ।
दुवै पक्षले बैठकलाई रचनात्मक भन्दै छलफललाई निरन्तरता दिने इच्छा व्यक्त गरेका छन् । पाँचौँ चरणसम्म वार्ता हुँदा पनि केही बुँदाहरूका कारण अपेक्षाकृत प्रगति हुन सकेको छैन ।
वार्तामा इरानले युरेनियम संवद्र्धन गर्नु छलफलको मुख्य विषय बनेको छ । संयुक्त राज्य अमेरिका र पश्चिमा देशहरूले इरानले आणविक हतियार बनाउन खोजेको आशङ्का गरेका छन् । तर, इरानले त्यस्तो महत्वाकाङ्क्षालाई अस्वीकार गरेको छ ।
उसले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गरेको छ । वार्तामा वासिङ्टनको प्रतिनिधिमण्डलको नेतृत्व गरेका मध्यपूर्वका राजदूत स्टिभ विटकोफलगायत अमेरिकी अधिकारीहरूले इरानको युरेनियम संवद्र्धन कार्यक्रमविरुद्ध आवाज उठाएका छन् । वार्ताअघि विटकोफले वासिङ्टनले इरानका लागि युरेनियम सङ्कलनमा एक प्रतिशत पनि क्षमता बढाउन नसक्ने बताएका थिए ।
तेहरानले आफ्नो संवद्र्धनलाई ‘गैर–सम्झौतायोग्य’ भनेको छ र यस्तो मागले सम्झौतालाई रोक्न सक्ने तर्क गरेको छ ।
‘शून्य आणविक हतियारका लागि हामीसँग सम्झौताको विकल्प छ । शून्य संवद्र्धन सम्झौताको शर्त हुनेछैन,’ इरानका शीर्ष वार्ताकार र विदेशमन्त्री अब्बास अराघचीले एक्समा संप्रेषित सन्देशमा लेखेका छन् ।
विज्ञहरूका अनुसार पाँचौं चरणको वार्तामा सम्झौताको लागि सीमा के हुने भन्ने बिषयमा टकराव देखिएको छ । सेन्टर फर इन्टरनेसनल पोलिसीकी सिना तुसीले एएफपीसँग भने, ‘यो चरण निकै संवेदनशील थियो, युरेनियम संवद्र्धनको विषयलाई लिएर अमिल्दो देखिने सार्वजनिक युरेनियम सम्वद्र्धन सीमाको टकराव देखियो ।’
सन् २०१५ मा पश्चिमा शक्तिराष्ट्रसँग भएको सम्झौताअनुसार ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गर्ने इरान एक मात्र गैरआणविक राष्ट्र हो ।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका क्रममा सन् २०१५ मा भएको यो सम्झौतालाई एकतर्फी रुपमा सम्झौताबाट अलग्याइएको थियो । –रासस
प्रतिक्रिया दिनुहोस्