
काठमाडौं । पूर्वशिक्षामन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सांसद सुमना श्रेष्ठले दिएको राजीनामा झण्डै दुई महिनापछि औपचारिक रूपमा स्वीकृत गरिएको छ ।
गत चैत १८ गते पार्टी सभापति रवि लामिछानेसमक्ष राजीनामा बुझाएकी श्रेष्ठको निर्णयलाई लामो समय होल्डमा राखिएपछि अन्ततः हिजो (आइतबार) बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
श्रेष्ठले राजीनामामा पार्टीभन्दा संसदको जिम्मेवारीमा केन्द्रित हुन चाहेको जनाउँदै आन्तरिक असन्तुष्टि प्रकट गरेकी थिइन् ।
उनको राजीनामा सार्वजनिक भएदेखि पार्टीभित्र विभिन्न तहमा त्यसको प्रभाव र अर्थबारे बहस भएको थियो । तर, पार्टी नेतृत्वले तत्काल निर्णय नगरी ‘होल्ड’मा राख्दै आएको थियो ।
उता, सोही बैठकमा रास्वपाका प्रशिक्षक विभाग प्रमुख अनिल केशरी शाहले २८ वैशाखमा दिएको राजीनामालाई पनि स्वीकृति दिइएको छ ।
शाहले विभागीय जिम्मेवारी आफूलाई ‘अनुकूल नपरेको’ भन्दै राजीनामा दिएका थिए ।
उनले केन्द्रीय समिति बैठकमै आफूले जिम्मेवारी सम्हाल्न सक्ने अन्य क्षेत्रको अवसर भए स्वीकार गर्ने इच्छा व्यक्त गरेका छन् ।
यद्यपि, श्रेष्ठ र शाह दुवै पार्टीको केन्द्रीय सदस्यको रूपमा यथावत रहनेछन् । सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य पनि भएकाले उनको सक्रिय भूमिका संसदीय क्षेत्रमै केन्द्रित रहनेछ ।
हिजोको बैठकमा श्रेष्ठले सभापति रवि लामिछानेमाथि भइरहेको भनिएको ‘ज्यादतीपूर्ण’ कारवाहीविरुद्ध पार्टी एक ढिक्का भएर उभिनुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीभित्र नेतृत्वका विषयमा केही मतभेदहरू देखा परिरहेका बेला श्रेष्ठ र शाहजस्ता प्रभावशाली नेताहरूले पद त्याग गर्नु र पार्टीभित्रै रहनु राजनीतिक रूपमा सन्तुलन कायम गर्ने प्रयासको संकेतको रूपमा हेरिएको छ ।
राजीनामा स्वीकृति प्रक्रियाले पार्टीभित्र नेतृत्व संरचनामा नयाँ समायोजनका संकेतसमेत देखिएको छ ।
अब रास्वपा केन्द्रीय तहमा नयाँ अनुहारहरूलाई जिम्मेवारी दिने तयारीमा रहेको बताइएको छ ।
पार्टीभित्रको आन्तरिक समन्वय र विविध धारका अभिव्यक्तिहरू व्यवस्थापन गर्नुपर्ने चुनौतीबीच रास्वपाले आगामी दिनमा कसरी स्थिरता र प्रभावशाली उपस्थितिको सन्तुलन कायम गर्नेछ भन्ने प्रतीक्षा छ ।
प्रतिक्रिया दिनुहोस्