काठमाडौं– यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कुल १ करोड ९४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयका अनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब ५० लाख रुपैयाँ बढी हो। चालक अनुमतिपत्र र सवारीसाधनको संख्या बढ्नुका साथै सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार पकेट तथा रुट परमिटबाट १८ लाख ८८ हजार, सवारी दर्ता किताब दस्तुरबाट ६४ लाख ९२ हजार, अग्रिम आयकरबाट ६ लाख ६८ हजार, बेरुजु असुलीबाट १ हजार ५७५ तथा सवारीसाधन करबाट १ करोड ३९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप तथा डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ वटा तथा चालक अनुमतिपत्रको प्रतिलिपि र नवीकरणतर्फ ३९४ सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ ।
यसरी आर्थिक वर्षभरिमा कुल ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाएको छ। कार्यालयले आगामी वर्षमा सेवा विस्तारसँगै राजस्व संकलन थप बढ्ने अपेक्षा गरेको छ ।


विश्व खबर 




















