images
images
  • अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने

    काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्ने भएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्रीले संवाद गर्न लागेका हुन् ।

    छलफलका लागि ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई अर्थ मन्त्रालयमा आमन्त्रण गरिएको छ। मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे छलफल सुरु हुने जनाइएको छ ।

    छलफलमा अर्थमन्त्री वाग्लेले बजेटले बहुराष्ट्रिय कम्पनीलाई उपलब्ध गराएका सुविधा, उनीहरूले भोगिरहेका समस्या तथा नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सुझाव माग्नेछन्। सहभागीलाई आफ्ना धारणा लिखित रूपमा पनि पेस गर्न आग्रह गरिने मन्त्रालयले जनाएको छ ।

    यसअघि यही शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् ।

    यस्तै, उनले ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयन, लगानी वातावरण र वित्तीय क्षेत्रका विषयमा छलफल गरिसकेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images