काठमाडौं– चापाकोट नगरपालिका–८ रत्नपुरमा १०० टन क्षमताको शीत भण्डार निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु १ करोड ६० लाख खर्चेर शीत भण्डार निर्माण गरिएको हो ।
रत्नपुर क्षेत्रलाई व्यावसायिक आलु उत्पादनको प्रमुख केन्द्र मानिन्छ। शीत भण्डार सञ्चालनमा आएपछि स्थानीय किसानलाई ठूलो राहत पुगेको छ। यसअघि किसानले आलु भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा र पुतलीबजारसम्म लैजानुपर्ने बाध्यता थियो ।
चापाकोट–८ का वडाध्यक्ष टोपलाल न्यौपानेले प्रारम्भिक योजना अनुसार २०० टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने लक्ष्य रहेको भए पनि बजेट अभावका कारण १०० टन क्षमतामा सीमित हुनुपरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाहिरी भण्डार केन्द्रसम्म आलु पुर्याउँदा किसानले प्रति बोरा रु ५०० सम्म खर्च गर्नुपर्ने अवस्था थियो। स्थानीय स्तरमै शीत भण्डार बनेपछि यातायात र भण्डारण खर्चमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ ।
किसानहरूले उत्पादन भएको आलु तत्कालै सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता घट्ने र उचित समयमा बजारमा पठाएर राम्रो मूल्य प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाले शीत भण्डारको प्रभावकारी सञ्चालनका लागि व्यवस्थापन समिति गठन र किसानलाई सहुलियत दरमा सेवा उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ। स्थानीय कृषकले यस संरचनालाई कृषि क्षेत्रमा महत्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन् ।


विश्व खबर 



















