काठमाडौं– सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का केही बन्दमुखी योजनाका इकाइ दोस्रो बजारमा प्राथमिक निष्कासन (आइपिओ) को अंकित मूल्य १० रुपैयाँभन्दा पनि कममा कारोबार हुन थालेपछि लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। तर जानकारहरूले सस्तो मूल्य देखेर मात्रै लगानी गर्न नहुने चेतावनी दिएका छन्।
नेपालमा म्युचुअल फण्डका खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका योजना सञ्चालनमा छन्। खुलामुखी योजनामा निश्चित परिपक्व अवधि हुँदैन र व्यवस्थापकमार्फत नियमित खरिद–बिक्री गर्न सकिन्छ। बन्दमुखी योजनाको भने निश्चित अवधि हुन्छ र ती नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुन्छन्।
योजनाले लगानीकर्ताबाट संकलन गरेको रकम विभिन्न सूचीकृत कम्पनीका सेयर, ऋणपत्र तथा अन्य वित्तीय उपकरणमा लगानी गर्छ। त्यसबाट प्राप्त आम्दानी, ब्याज तथा नाफाका आधारमा लाभांश वितरण गरिन्छ। यद्यपि लाभांश निश्चित हुँदैन र वितरण गर्नैपर्ने कानुनी बाध्यता पनि छैन।
सामान्यतया म्युचुअल फण्डका इकाइ प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यमा जारी हुन्छन्। तर हाल केही बन्दमुखी योजनाका इकाइ १० रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुन थालेपछि लगानीकर्ताले यसलाई अवसरका रूपमा हेर्न थालेका छन्।
विशेषज्ञहरूका अनुसार अंकित मूल्यभन्दा कममा कारोबार हुनु मात्रै लगानीका लागि पर्याप्त आधार होइन। योजनाको खुद सम्पत्ति मूल्य (एनएभी), भविष्यको लाभांश क्षमता, योजनाको बाँकी अवधि तथा वास्तविक आम्दानीको अवस्था समेत अध्ययन गर्न आवश्यक हुन्छ।
नबिल इन्भेस्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीका अनुसार असार मसान्तमा योजनाको एनएभी १० रुपैयाँभन्दा कम भएमा हालको व्यवस्थाअनुसार लाभांश वितरण गर्न पाइँदैन। एनएभी १० रुपैयाँभन्दा माथि रहेको अवस्थामा भने सेयर बिक्री, प्राप्त लाभांश वा ब्याजबाट वास्तविक रूपमा प्राप्त आम्दानीका आधारमा लाभांश वितरण गर्न सकिन्छ ।
उनले बजारमा रहेका सेयरको मूल्य बढे पनि बिक्री नगरेसम्म त्यसबाट भएको वृद्धि ‘अनरियलाइज्ड गेन’ अर्थात् प्राप्त नभइसकेको आम्दानी मानिने बताए ।
गत शुक्रबार अंकित मूल्यभन्दा कममा कारोबार भएका आठ योजनामध्ये पाँच योजनाको असार मसान्तको एनएभी १० रुपैयाँभन्दा माथि रहेको देखिएको छ। ती योजनामा सनराइज फोकस इक्विटी फण्ड, मुक्तिनाथ म्युचुअल फण्ड–१, एनआइसी एसिया ब्यालेन्स्ड फण्ड, नबिल ब्यालेन्स्ड फण्ड–३ र एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड रहेका छन् ।
यी योजनाले हालसम्म प्राप्त गरिसकेको आम्दानीका आधारमा करिब ६ प्रतिशतदेखि ११.२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने अवस्था रहेको बताइएको छ ।
यता एचएलआई लार्ज क्याप फण्ड, एनआइसी एसिया सेलेक्ट फण्ड–३० र मेगा म्युचुअल फण्ड–१ को असार मसान्तको एनएभी १० रुपैयाँभन्दा कम रहेकाले यसपटक लाभांश वितरण गर्न नपाउने भएका छन् ।
जोशीका अनुसार हालको व्यवस्थामा त्रैमासिक अवधिमा एनएभी १० रुपैयाँभन्दा माथि रहे पनि असार मसान्तमा घटेमा लगानीकर्ताले लाभांश गुमाउनुपर्ने अवस्था आउँछ। त्यसैले सामूहिक लगानी कोषलाई त्रैमासिक वा अर्धवार्षिक रूपमा लाभांश वितरण गर्न सक्ने व्यवस्था आवश्यक रहेको उनको सुझाव छ ।
उनले भने, “यदि यस्तो व्यवस्था गरियो भने प्रत्येक अवधिको एनएभीका आधारमा लाभांश वितरण गर्न सकिनेछ र लगानीकर्ताले योजनाले कमाएको प्रतिफल कुनै न कुनै अवधिमा प्राप्त गर्न सक्ने अवस्था बन्नेछ ।”
विश्लेषकहरूका अनुसार म्युचुअल फण्डमा लगानी गर्दा सस्तो बजार मूल्यभन्दा बढी योजनाको गुणस्तर, व्यवस्थापन क्षमता, पोर्टफोलियोको अवस्था र वास्तविक आम्दानीलाई प्राथमिकता दिनु दीर्घकालीन रूपमा बढी लाभदायक हुन सक्छ ।


विश्व खबर 



















