काठमाडौं– जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा एक करोड नौ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार हुलाक टिकट बिक्रीबाट ५८ लाख ७२ हजार रुपैयाँ तथा काउन्टर अटोमेसन, पार्सल, रोयल्टीलगायत अन्य सेवा शुल्कबाट ५० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको हो।
कार्यालयले गत आवमा ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। विनियोजित छ करोड ३३ लाख ६१ हजार रुपैयाँमध्ये पाँच करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
नेपाल सरकारको ‘एक स्थानीय तह, एक हुलाक’ संरचनाअनुसार चितवनका सबै स्थानीय तहमा पालिका हुलाक कार्यालय सञ्चालनमा छन्। भरतपुर महानगरभित्र तीन हुलाक काउन्टर र १२ अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ।
कार्यालयका अनुसार स्वीकृत ५३ दरबन्दीमध्ये ४९ कर्मचारी कार्यरत छन् भने चार पद रिक्त छन्। साथै २२ जना अतिरिक्त हुलाक जनशक्ति पनि कार्यरत छन्।
सञ्चार क्षेत्रतर्फ कार्यालयले ३५ सञ्चारमाध्यमलाई ६० लाख २४ हजार रुपैयाँ लोककल्याणकारी विज्ञापनबापत भुक्तानी गरेको छ। यस्तै १७ एफएम रेडियो नवीकरण, २२ पत्रकारलाई परिचयपत्र वितरण तथा १९ अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गरिएको कार्यालयले जनाएको छ।


विश्व खबर 



















