images
images
  • सरकारले पहिलो तीन महिनामै एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

    काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोज महिनामा मात्रै एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार चालु वर्षमा कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ। कम ब्याजदरमा ऋण उपलब्ध भइरहेकाले सरकारले सबैभन्दा बढी ऋण पहिलो त्रैमासमै उठाउन थालेको हो ।

    पहिलो त्रैमासमा १० अर्ब रुपैयाँ ट्रेजरी बिलबाट र ९० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट उठाइनेछ। ट्रेजरी बिल एक वर्षभन्दा कम अवधिको ऋणपत्र हो भने विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय गरिन्छ ।

    दोस्रो त्रैमासमा ९३ अर्ब, तेस्रो त्रैमासमा सबैभन्दा बढी एक खर्ब २० अर्ब र चौथो त्रैमासमा ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका रहेको छ। केही अंश नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत पनि उठाइनेछ ।

    हाल बजारमा आन्तरिक ऋणको औसत ब्याजदर करिब ६.५ प्रतिशत रहेको छ। बैंकहरूमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी थुप्रिएकाले सरकारले सस्तो ब्याजदरमा ऋण लिन सकिरहेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images