काठमाडौं– विद्युत् क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले विद्युत् प्रसारण लाइन, सबस्टेसन, पोल व्यवस्थापन, वितरण प्रणाली र नियमित आपूर्तिका समस्या तत्काल समाधान गर्न माग गरेका हुन्।
समिति सभापति आशिष गजुरेलले पोल नसार्दा विकास निर्माणका काममा ढिलाइ हुने गरेको बताउनुभयो। सांसदहरूले हावाहुरी र वर्षाका बेला विद्युत् अवरुद्ध हुने समस्या, पुराना काठका पोल हटाउनुपर्ने, हाइटेन्सन लाइनबाट हुने जोखिम न्यूनीकरण गर्नुपर्ने र कर्णालीलगायत दुर्गम क्षेत्रमा प्रसारण लाइन विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
सांसदहरूले वितरण प्रणाली कमजोर हुँदा उपभोक्ताले समस्या भोग्नुपरेको भन्दै विद्युत् उत्पादनभन्दा वितरण व्यवस्थापन सुधारमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले विद्युत् खपत र निर्यातको रणनीति तयार भइरहेको जानकारी दिनुभयो। नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बैठकमा उठेका विषयबारे जानकारी गराउनुभएको थियो।


विश्व खबर 



















