images
images
  • कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा पूर्वसिइओ शाहसहित तीन जना पक्राउ

    काठमाडौं– कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत शाह, उहाँकी श्रीमती शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्।

    प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका उनीहरूमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी विषयमा अनुसन्धान अघि बढाइनेछ। पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा बुझाइएको प्रहरीले जनाएको छ।

    अनुसन्धानका क्रममा बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, कमजोर वा नक्कली धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको पाइएको प्रहरीको भनाइ छ।

    केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर, नेपालगन्जस्थित वाणिज्य इजलासमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ।

    प्रहरीका अनुसार हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन्। अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायत रहेका छन्।

    बैंकको वित्तीय अवस्था कमजोर हुँदै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।

    उक्त घटनाले बैंकिङ क्षेत्रमा आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन तथा नियामकीय निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images