तेहरान– इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा एकसाथ ठूलो हमला गरेका छन् ।
यमनका सैन्य अड्डाहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत गरिएको आक्रमणमा ५८ सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
यमनको रक्षा मन्त्रालयले घटनाको उचित समय र स्थानमा जवाफ दिइने जनाएको छ ।
उता, साउदी अरबको नजरान क्षेत्रमा भएको हमलामा ४ वर्षीय बालकसहित ११ जना सर्वसाधारण घाइते भएका छन् ।
घटनापछि विभिन्न स्थानमा आगलागी भएको र दमकल तथा उद्धार टोली परिचालन गरिएको जनाइएको छ ।
हुथी (अन्सार अल्लाह) यमनको शिया विद्रोही समूह हो, जसले २०१४ देखि राजधानी साना नियन्त्रणमा राख्दै यमन सरकार र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लड्दै आएको छ ।
अमेरिका र उसका सहयोगीहरूले इरानले हुथीहरूलाई हतियार, ड्रोन र क्षेप्यास्त्र प्रविधिमा सहयोग गरेको आरोप लगाउँदै आएका छन् ।
विश्लेषकहरूका अनुसार इरानमाथि दबाब बढ्दा हुथीहरूले आफ्ना आक्रमण तीव्र बनाउने गरेका छन् ।


विश्व खबर 




















