काठमाडौं– वैदेशिक रोजगारका लागि कामदार मागसम्बन्धी विज्ञापन प्रकाशित गरेको सात दिन पूरा नभएसम्म म्यानपावर कम्पनीहरूले श्रमिक छनोट गर्न नपाउने भएका छन्।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको हो।
विभागले जारी गरेको सूचनामा विज्ञापन प्रकाशित भएपछि कम्तीमा सात दिनसम्म प्राप्त भएका सबै आवेदन संकलन गर्न र सो अवधि पूरा भएपछि मात्रै आवेदकमध्येबाट श्रमिक छनोट प्रक्रिया अघि बढाउन भनिएको छ।
केही म्यानपावर कम्पनीले सात दिनको समय तोकेर विज्ञापन प्रकाशित गरे पनि अवधि पूरा नहुँदै ‘कोटा पूरा भएको’ भन्दै आवेदन लिन बन्द गर्ने गरेको गुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको जनाएको छ।
विभागका अनुसार विज्ञापनको म्याद नसकिँदै आवेदन प्रक्रिया बन्द हुँदा इच्छुक कामदार रोजगारीको अवसरबाट वञ्चित हुने अवस्था देखिएको छ। त्यसलाई रोक्न र श्रमिक छनोट प्रक्रियालाई पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरिएको हो।
अब म्यानपावर कम्पनीले विज्ञापनमा उल्लेख गरिएको सात दिनको अवधिभर आएका सबै आवेदन अनिवार्य रूपमा संकलन गर्नुपर्नेछ। त्यसपछि मात्रै तोकिएको प्रक्रिया पूरा गरी श्रमिक छनोट गर्नुपर्ने विभागले जनाएको छ।
छनोट भएका उम्मेदवारको नामावलीसमेत सम्बन्धित म्यानपावर कम्पनीको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।


विश्व खबर 

















