काठमाडौं– सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो चरणको उपहार विजेता घोषणा गरेको छ। साउन १ देखि १५ गतेसम्म भएका कारोबारका आधारमा गरिएको छनोटमा १६ जना उपभोक्ता भाग्यशाली बनेका छन्।
आन्तरिक राजस्व विभागका अनुसार १५ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। पुरस्कारमा २५ प्रतिशत आकस्मिक लाभकर कट्टी हुने भएकाले नियमित विजेताले एक लाख रुपैयाँ र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पहिलो चरणको नतिजाले सानो रकमको खरिदले पनि ठूलो पुरस्कार जित्न सकिने देखाएको छ। नियमित पुरस्कार जित्नेमध्ये १६० रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्ता पनि रहेका छन्। त्यस्तै १० लाख रुपैयाँको बम्पर उपहार जित्ने उपभोक्ताले साउन ७ गते कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिवकृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका थिए।
विभागका अनुसार विजेतालाई कुपन नम्बरका आधारमा छनोट गरिएको हो। सम्बन्धित मोबाइल नम्बर र विद्युतीय हुलाकमार्फत जानकारी गराइसकेपछि विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्नेछ। मूल बिलसहित आवश्यक कागजात पेस गरेपछि प्रक्रिया पूरा गरी पुरस्कार रकम भुक्तानी गरिनेछ।
पहिलो चरणमा बैङ्क तथा डिजिटल वालेटको क्यूआरमार्फत दुई करोड ५६ लाख आठ हजार ९९४ कारोबार भएका छन्। ती कारोबारको कुल मूल्य ७६ अर्ब ६० करोड तीन लाख २३ हजार ८१९ रुपैयाँ रहेको विभागले जनाएको छ।
नगद कारोबारतर्फ सात हजार ७७ बिल विभागको प्रणालीमा प्रविष्ट भएका छन्। ती बिलमार्फत आठ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा खरिदको विवरण दर्ता भएको छ।
कार्यक्रममा क्यूआरमार्फत गरिएको भुक्तानी स्वतः सहभागी हुने व्यवस्था छ। नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा मूल्य अभिवृद्धि कर बिलको विवरण विभागको वेबसाइटमा प्रविष्ट गरी कुपन नम्बर लिनुपर्ने हुन्छ।
व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकायका नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारीसाधन, ढुवानी तथा हवाई टिकटका बिल भने कार्यक्रममा सहभागी हुन योग्य हुँदैनन्।
विभागले विजेता छनोटका लागि सुरक्षित अनियमित छनोट प्रणाली प्रयोग गरिएको जनाएको छ। यस प्रणालीमा कारोबारको रकम, ग्राहकको नाम वा स्थायी लेखा नम्बरका आधारमा कुनै प्राथमिकता नदिई सबै योग्य कुपनलाई समान अवसर प्रदान गरिन्छ।
अब हरेक महिनामा दुईपटक उपहार विजेता घोषणा गरिनेछ। महिनाको १ देखि १५ गतेसम्मको कारोबारका लागि १६ गते र १६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि महिनाको अन्तिम दिन विजेता सार्वजनिक गर्ने तालिका तय गरिएको छ।
सरकारले चालु आर्थिक वर्षभर करिब सात करोड २५ लाख रुपैयाँ बराबरका उपहार वितरण गर्ने लक्ष्य राखेको छ। कार्यक्रममार्फत उपभोक्तामा बिल लिने बानीको विकास, कर चुहावट नियन्त्रण, विद्युतीय भुक्तानी विस्तार तथा अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउने उद्देश्य राखिएको विभागले जनाएको छ।


विश्व खबर 




















