काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो उपहार कार्यक्रम आज घोषणा गर्दैछ ।
विभागले साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेवसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गर्न लागेको हो ।
जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउने छन् । यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुने छ । जसमा एक जनाले १० लाख रुपैयाँ नगद जित्नेछन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।


विश्व खबर 




















