काठमाडौं– राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलकी नेता पन्तले गृहमन्त्री सुधन गुरुङसँग बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे स्पष्ट जानकारी माग गर्नुभयो।
उहाँले अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अन्य जोखिमयुक्त समुदायको उद्धार र पुनःस्थापनाका लागि तयार पारिएको योजनाबारे पनि सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो।
सांसद पन्तले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार यस वर्ष करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको उल्लेख गर्नुभयो।
उहाँले पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन, जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण तथा उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि र अस्थायी आवासको पूर्वतयारी सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
पन्तले २०८१ सालको बाढीपहिरोबाट सिक्दै पूर्वसूचना जारी भएपछि अवलम्बन गरिने स्पष्ट कार्यप्रणाली, सङ्घ–प्रदेश–स्थानीय तहबीच प्रभावकारी समन्वय तथा एकीकृत कमाण्ड प्रणाली आवश्यक रहेको बताउनुभयो।
उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेको अवस्थाप्रति पनि चासो व्यक्त गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको कार्यान्वयन, जोखिमयुक्त क्षेत्रको तयारी, उद्धार सामग्री, राहत कोष, पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाको तयारीबारे सरकारसँग सदनलाई जानकारी गराउन माग गर्नुभयो।
उक्त प्रस्तावमाथि सांसद मदनकुमारी शाह ९गरिमा०, सोमनाथ पोर्तेल र पदमबहादुर परियारले समर्थन जनाउँदै मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारी थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।


विश्व खबर 


















