काठमाडौं– रोयटर्सले अमेरिकी प्रशासनसँग सम्बन्धित तीन स्रोतलाई उद्धृत गर्दै इरानसँग पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले आफ्नो लामो दूरीका उच्च सटीकतायुक्त क्षेप्यास्त्रको ठूलो हिस्सा प्रयोग गरिसकेको दाबी गरेको छ ।
समाचारअनुसार आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र नयाँ पुस्ताको प्रेसिजन स्ट्राइक मिसाइलको मौज्दात उल्लेखनीय रूपमा घटेको छ ।
प्याट्रियट प्रतिरक्षा प्रणालीका करिब ६५ प्रतिशत र थाड प्रतिरक्षा प्रणालीका कम्तीमा ३८ प्रतिशत अवरोधक क्षेप्यास्त्र प्रयोग भइसकेको अनुमान पनि सार्वजनिक गरिएको छ ।
यसले भविष्यमा रूस, चीन वा अन्य सम्भावित सुरक्षा संकटको सामना गर्ने अमेरिकी सैन्य क्षमतामाथि प्रश्न उठाएको विश्लेषण गरिएको छ ।
लामो दूरीका सटीक क्षेप्यास्त्र कम भएपछि मानवचालित लडाकु वा बमवर्षक विमानको प्रयोग बढ्न सक्ने र त्यसले सैन्य जोखिम बढाउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
यद्यपि ह्वाइट हाउस र अमेरिकी रक्षा मन्त्रालयले अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार भण्डार भएको देश रहेको, आवश्यक हतियार पर्याप्त रहेको तथा रक्षा उद्योगले उच्च दरमा नयाँ उत्पादन गरिरहेको दाबी गरेका छन् ।
अमेरिकी प्रशासनले टमाहक, प्याट्रियट र अन्य प्रणालीको उत्पादन बढाएर घटेको मौज्दात पुनः भर्ने प्रक्रिया तीव्र बनाएको जनाएको छ ।


विश्व खबर 




















