काठमाडौं– रूसले बुधबार बिहान युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ ।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
किभ सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोका अनुसार बोरिस्पिल जिल्लामा ९ जना, बुचा जिल्लामा ४ जना र फास्टिभ जिल्लामा १ जनाको ज्यान गएको हो ।
आवासीय भवन र गोदामहरूमा क्षति पुगेको छ ।
किभका मेयर भिटाली क्लिच्कोले केही मानिस भग्नावशेषमा फसेको हुन सक्ने बताएका छन् ।
युक्रेनले रूसमाथि नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ, तर रुसले घटनाबारे हालसम्म प्रतिक्रिया दिएको छैन ।
पछिल्ला साताहरूमा किभमाथि रूसी आक्रमण तीव्र बनेका छन् ।
युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न थप अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली उपलब्ध गराइदिन सहयोगी राष्ट्रहरूसँग पुनः आग्रह गरेको छ ।


विश्व खबर 




















