काठमाडौं– गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको दोस्रो चरण आज चन्द्रमामा ठोक्किने भएको छ ।
सन् २०२५ मा फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान प्रक्षेपणपछि करिब ४ हजार किलोग्राम तौलको यो भाग अन्तरिक्षमै बाँकी रहेको थियो ।
वैज्ञानिकहरूका अनुसार यो टुक्रा करिब ८ हजार ६९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्र सतहमा ठोक्किँदा ठूलो धुलोको बादल उठ्नेछ ।
घटना पृथ्वीबाट नाङ्गो आँखाले देखिन कठिन हुने बताइएको छ ।
खगोलविद्हरूले यसबाट केही वैज्ञानिक जानकारी प्राप्त हुन सक्ने भए पनि मानिस वा अन्तरिक्ष यात्रामा तत्काल कुनै खतरा नरहेको बताएका छन् ।
तर, घटनाले अन्तरिक्ष फोहोर व्यवस्थापनबारे नयाँ प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
यसअघि पनि सन् २०२२ मा एक चिनियाँ रकेटको भाग चन्द्रमामा खसेको थियो भने सन् २००९ मा नासाले अनुसन्धानका लागि जानाजानी रकेटको भाग चन्द्रमामा ठोक्काएको थियो ।


विश्व खबर 


















