काठमाडौं– संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले लुम्बिनी विश्व सम्पदा क्षेत्र र मायादेवी मन्दिरलाई खतरामा परेको विश्व सम्पदाको सूचीमा राख्ने निर्णय हाललाई एक वर्षका लागि स्थगित गरेको छ ।
दक्षिण कोरियाको बुसानमा सम्पन्न युनेस्को विश्व सम्पदा केन्द्रको बैठकमा नेपालले लुम्बिनी क्षेत्रमा गरिएको सुधार, संरक्षण योजना र व्यवस्थापनका प्रगतिबारे जानकारी गराएको थियो ।
त्यसका आधारमा यो वर्ष खतराको सूचीमा नराख्ने निर्णय गरिएको पुरातत्व विभागले जनाएको छ ।
गत वर्ष युनेस्कोका दुई विज्ञले लुम्बिनी र मायादेवी मन्दिरको निरीक्षण गरी पानी रसाउने, छत चुहिने, ओस र चिसोका कारण पुरातात्विक संरचनामा क्षति पुग्ने जोखिमबारे सुझाव दिएका थिए ।
नेपालले ती समस्याको समाधानतर्फ काम अघि बढाएको बताएको छ ।
युनेस्कोले नेपाललाई आगामी एक वर्षभित्र संरक्षण र व्यवस्थापनका बाँकी सुधार कार्यलाई प्रभावकारी रूपमा पूरा गर्ने अवसर दिएको छ ।
नेपालले मायादेवी मन्दिर भत्काएर नयाँ संरचना बनाउनेभन्दा उचित संरक्षण र पुनर्स्थापनाको पक्षमा रहेको जनाएको छ ।


विश्व खबर 

















