images
images
  • एक्कासी माग बढ्दा बजारमा खाना पकाउने ग्यासको हाहाकार, आपूर्तिमा कठिनाइ : निगम

    काठमाडौं– बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको समाचार र खाली सिलिन्डर बोकेर लामो लाइनमा बसेका उपभोक्ताका तस्वीर सार्वजनिक भइरहेका छन् ।

    यसले बजारमा त्रास फैलाएको भए पनि नेपाल आयल निगमले समस्या आपूर्ति घटेर नभई डिमान्ड अस्वाभाविक रूपमा बढेका कारण भएको जनाएको छ ।

    निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ७.५ किलो (आधा सिलिन्डर)को सट्टा १४.२ किलोको भरी सिलिन्डर बजारमा पठाउन थालेपछि एकैपटक धेरै उपभोक्ताले ग्यास भर्न थालेका छन् ।

    ‘भएको सिलिन्डरमा समेत थप ग्यास भर्न खोज्दा अस्थायी चाप परेको हो,’ उनले बताए ।

    निगमले भने साविककै परिमाणमा ग्यास आयात र वितरण भइरहेको दाबी गरेको छ ।

    नेपालको औसत मासिक माग ४५–४६ हजार मेट्रिकटन रहेकोमा असारमा ४४ हजार ५४४ मेट्रिकटन ग्यास वितरण गरिएको थियो ।

    चैतमा ३८ हजार ८ सय, वैशाखमा ३२ हजार ५६ र जेठमा ३३ हजार ८४२ मेट्रिकटन खपत भएको तथ्यांक निगमले दिएको छ ।

    प्रवक्ता ठाकुरका अनुसार अघिल्ला महिनामा कम खपत भएकाले अभाव देखिएको थिएन, तर भरी सिलिन्डरको वितरण सुरु भएपछि देशभर एकैचोटि माग बढ्दा बजारमा हाहाकारको अवस्था देखिएको हो ।

    निगमले भारतको इन्डियन आयल कर्पोरेसनसँग वार्षिक सम्झौताअनुसार ग्यास आयात गर्ने भएकाले एकै महिनामा अत्यधिक अतिरिक्त माग पूरा गर्न कठिन हुने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images