किभ– युक्रेनले रुसका तीन तेल प्रशोधन केन्द्र र एक प्रतिबन्धित मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार बाश्कोर्तोस्तानस्थित ती रिफाइनरीहरू युक्रेनको सीमाबाट करिब १,६०० किलोमिटर टाढा रहेका छन् ।
जेलेन्स्कीले ‘यानिना’ नामक रुसी कन्टेनर जहाज कालो सागरमा डुबेको दाबी गरे पनि रुसी कम्पनीले जहाजमा नागरिक प्रयोजनका सामग्री मात्र रहेको जनाएको छ ।
यसबीच, आईएईएका अनुसार रुसको नियन्त्रणमा रहेको जापोरिझ्झिया आणविक विद्युत् केन्द्रले केही समय बाह्य विद्युत् आपूर्ति गुमाएको थियो ।
क्रिमियामा ऊर्जा र इन्धन अभावका कारण सर्वसाधारणले तातो खाना लिन लामो लाइन बस्नुपरेको बताइएको छ ।
उता, रुसले किभमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु र ३३ जना घाइते भएका छन् ।
जेलेन्स्कीले युक्रेनलाई थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग पुनः आग्रह गरेका छन् ।


विश्व खबर 




















