काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तयारी गरिएको ठूलो सैन्य हमला तत्कालका लागि रोकिएको घोषणा गरेका छन् ।
ट्रुथ सोसलमार्फत उनले इरान र मध्यपूर्वका केही देशहरूको आग्रह तथा प्रारम्भिक कूटनीतिक सहमतिपछि आक्रमण रद्द गरिएको बताएका हुन् ।
ट्रम्पका अनुसार सहमतिमा होर्मुज स्ट्रेट तत्काल र पूर्ण रूपमा खोल्ने तथा इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश छ ।
उनले इजरायल पनि यस निर्णयमा अमेरिकासँगै रहेको उल्लेख गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने सैन्य दबाबकै कारण इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन् ।
उनका अनुसार अमेरिकी कारबाहीले इरानका नौसैनिक, वायु तथा मिसाइल क्षमतामा गम्भीर असर परेको छ ।
यता इरानले अमेरिकामाथि सार्वजनिक रूपमा युद्धको धम्की दिँदै गोप्य रूपमा वार्ताको पहल गरिरहेको आरोप लगाएको छ ।
इरानी अधिकारीहरूले होर्मुज स्ट्रेटको व्यवस्थापन इरानकै नियन्त्रणमा रहने बताएका छन् ।
वार्ताको चर्चा चलिरहे पनि क्षेत्रमा सैन्य सतर्कता कायम छ ।
अमेरिकाले इजरायलस्थित बेन गुरियन विमानस्थलमा थप १० वटा रिफ्युलिङ सैनिक विमान पठाउने तयारी गरेको छ भने उत्तरी इराक र गाजामा पनि तनावपूर्ण घटनाहरू जारी रहेका छन् ।


विश्व खबर 




















