काठमाडौं– नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशनहरूको पालना नगरेको भन्दै प्रभु बैंक लिमिटेडमाथि कडा सुधारात्मक कारबाही गरेको छ ।
राष्ट्र बैंकले जनाएको अनुसार समष्टिगत स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर कमजोरीहरू समयमै सुधार नगरेको तथा अघिल्ला निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतहरूमा अपेक्षित सुधार नभएको निष्कर्षपछि प्रभु बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० (१) (ख) बमोजिम सुधारात्मक कदम चाल्न कबुलियतनामा गराइएको हो ।
यसैगरी, कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा नेपाल राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीमा रहेको विवरणबीच फरक देखिएको निष्कर्षका आधारमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० (२) (ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सुशासन, पारदर्शिता र नियामकीय अनुशासन कायम गर्न निरीक्षणबाट देखिएका कमजोरीमा आवश्यक सुधार गर्न निर्देशनसमेत दिएको छ ।


विश्व खबर 




















