काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ‘क’ वर्गका वाणिज्य बैंकहरूको निरीक्षणपछि तीन वाणिज्य बैंकमाथि नियामकीय कारबाही गरेको छ ।
सार्वजनिक गरिएको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक लिमिटेड कारबाहीमा परेका छन् ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ अनुसार समयमै बैंक खाता रोक्का नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको छ ।
कृषि विकास बैंकले पनि विशेष स्थलगत निरीक्षणका क्रममा नेपाल राष्ट्र बैंक तथा कानून कार्यान्वयन गर्ने निकायको अनुरोधबमोजिम समयमै बैंक खाता रोक्का नगरेको भेटिएपछि भविष्यमा यस्ता कमजोरी नदोहोर्याउन सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
तीन बैंकमध्ये प्रभु बैंकमाथि भने सबैभन्दा कडा कारबाही भएको छ ।
राष्ट्र बैंकका अनुसार समष्टिगत स्थलगत निरीक्षणका क्रममा औंल्याइएका गम्भीर कमजोरी समयमै सुधार नगरेको तथा अघिल्ला निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरूमा अपेक्षित सुधार नदेखिएकाले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(ख) बमोजिम सुधारात्मक कदम चाल्ने कबुलियतनामा गराइएको हो ।
यसबाहेक, कर्जा वर्गीकरणसम्बन्धी निर्देशनको उल्लंघन, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगर्नु तथा राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीमा रहेको विवरणबीच फरक देखिएको निष्कर्षपछि प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ ।
राष्ट्र बैंकको पछिल्लो कारबाहीलाई बैंकिङ क्षेत्रमा नियामकीय अनुशासन कडाइ गर्ने संकेतका रूपमा हेरिएको छ ।
निरीक्षणबाट देखिएका कमजोरी समयमै सुधार नगर्ने बैंक तथा जिम्मेवार पदाधिकारीमाथि थप कडाइ गर्ने नीति राष्ट्र बैंकले अवलम्बन गरेको देखिन्छ ।


विश्व खबर 




















