images
images
  • खाना पकाउने ग्यास आपूर्ति कहिले हुन्छ सहज ?

    काठमाडौं– बजारमा खाना पकाउने ग्यासको अचानक अभाव देखिएपछि नेपाल आयल निगमले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै १० देखि १२ दिनभित्र आपूर्ति सहज हुने दाबी गरेको छ ।

    ग्यास सहजै नपाएको गुनासो बढेपछि निगमले शनिबारदेखि टेकुस्थित कार्यालय परिसरबाट खुद्रा वितरणसमेत सुरु गरेको छ ।

    निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतबाट ग्यासको नियमित आपूर्ति भइरहे पनि ७.१ किलोग्रामको आधा सिलिन्डर वितरणबाट १४.२ किलोग्रामको पूरा सिलिन्डरमा फर्किएपछि बजारमा एक्कासि माग बढेको हो ।

    ‘यो आपूर्ति बन्द भएको समस्या होइन, माग अचानक बढ्दा देखिएको अस्थायी चाप हो,’ उनले भने ।

    निगमका अनुसार नेपालमा दैनिक ९० देखि ९५ बुलेट ग्यास आवश्यक पर्नेमा हाल १०० भन्दा बढी बुलेट लोड भइरहेको छ ।

    विभिन्न नाकाबाट थप ग्यास नेपाल भित्रिने क्रम जारी रहेकाले अबको एक साताभित्र उद्योगहरूले सिलिन्डर भर्ने मात्रा बढाउने र त्यसपछि बजार क्रमशः सहज हुने दाबी गरिएको छ ।

    नेपाल ग्यास उद्योग सङ्घले पनि एकै पटक धेरै उपभोक्ता ग्यास भर्न आएपछि माग धान्न कठिन भएको जनाएको छ ।

    सङ्घका उपाध्यक्ष धर्मराज बर्तौलाले आधा सिलिन्डर वितरणको अवधिमा भारतबाट उठाउन पाउने ग्यासको मात्रा घटेकाले अहिले चाप बढेको बताए ।

    उनका अनुसार कतिपय उपभोक्ताले एकभन्दा बढी सिलिन्डर भरेर घरमा राख्न थालेपछि वितरण असन्तुलित भएको छ ।

    निगमले घरमा अनावश्यक भण्डारण नगर्न आग्रह गर्दै एक परिवारलाई तत्कालका लागि एउटा भन्दा बढी सिलिन्डर नदिन विक्रेतालाई निर्देशन दिएको जनाएको छ ।

    ‘एउटा सिलिन्डरले सामान्य चार सदस्यीय परिवारलाई करिब एक महिना पुग्छ, त्यसैले आवश्यक परे मात्रै खरिद गर्नुपर्छ,’ प्रवक्ता ठाकुरले भने ।

    उद्योगी र निगम दुवैले भारतबाट थप ग्यास आयात बढाउने प्रयास भइरहेको बताएका छन् ।

    थप आपूर्ति नियमित रूपमा आइरहेकाले हाल देखिएको अभाव केही दिनमै घट्दै जाने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images