काठमाडौं– नेपालभर करिब ८० हजारभन्दा बढी बङ्गलादेशी तथा केही भारतीय कारिगढ सुन–चाँदी व्यवसायमा कार्यरत छन् ।
रूपन्देहीमा आयोजित नेपाल सुन–चाँदी व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष अर्जुन रसाइलीले नेपालभर करिब ८० हजारभन्दा बढी बङ्गलादेशी तथा केही भारतीय कारिगढ सुन–चाँदी व्यवसायमा कार्यरत रहेको जानकारी दिएका हुन् ।
उनले नेपाली युवाले सीप सिक्न रुचि नदेखाउँदा व्यवसायीहरू विदेशी कारिगढमा निर्भर हुनुपरेको बताए ।
उनका अनुसार विदेशी कारिगढ डिजाइनमा दक्ष, मेहनती र समयमै काम गर्ने भएकाले ग्रामीण क्षेत्रसम्म सेवा दिइरहेका छन् ।
नेपाली युवाले भने नेपालमै राम्रो आम्दानी सम्भव हुँदा पनि कम तलब हुने खाडी मुलुकतर्फ आकर्षित हुने प्रवृत्ति देखिएको उनले गुनासो गरे ।
महासंघले नेपाली युवालाई तालिम र स्वरोजगारमार्फत यस क्षेत्रमा आकर्षित गर्ने योजना बनाएको जनाएको छ ।
साथै व्यवसायीलाई सुन किनबेचमा सहज बनाउन ‘गोल्ड बैंक’ अवधारणा अघि सारिएको रसाइलीले बताए ।
बुटवलमा महासंघको १३औँ र १४औँ वार्षिक साधारणसभामा देशभरका करिब ७ सय सुन–चाँदी व्यवसायी सहभागी भएका छन् ।


विश्व खबर 




















