काठमाडौं– अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु)ले मध्य मालीको किर्निया गाउँमा गत जुन १५ मा रूसी समर्थित अफ्रिका कोप्र्सले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
संस्थाका अनुसार रुसी सुखोई सु–२४ विमानबाट खसालिएका दुई बममध्ये पहिलो गाउँ प्रमुखको घर नजिक र दोस्रो गाईवस्तु बजार क्षेत्रमा विस्फोट भएको थियो ।
एचआरडब्लुले घटनाबारे १९ जनासँग अन्तर्वार्ता, उपग्रह तस्बिर र अफ्रिका कोप्र्सले सार्वजनिक गरेको भिडियो विश्लेषण गरेको बताएको छ ।
संस्थाले आक्रमणमा कुनै इस्लामिक विद्रोही मारिएको प्रमाण नपाएको दाबी गर्दै माली सरकारसँग स्वतन्त्र अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेको छ ।
एसोसिएटेड प्रेसले भने उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
रूसको रक्षा मन्त्रालयले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
मालीमा अल–कायदा र इस्लामिक स्टेटसँग आबद्ध सशस्त्र समूह तथा तुआरेग विद्रोहीहरूको हिंसा जारी रहेको छ ।
सन् २०२१ यता रूसी सैनिक तथा पछिल्लो समय अफ्रिका कोप्र्स मालीको सैन्य अभियानमा सक्रिय छन् ।


विश्व खबर 




















