काठमाडौं– एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका १४.२ केजी सिलिण्डर सम्बन्धित उद्योगमार्फत आजदेखि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री गर्ने व्यवस्था गरेको छ ।
निगमका अनुसार जुलाईमा करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको छ भने साउन १ देखि १५ गतेसम्म २६.५ मेट्रिकटन ग्यास भित्रिएको छ ।
प्रवक्ता मनोज ठाकुरले ७.१ केजीबाट १४.२ केजी सिलिण्डरमा परिवर्तन हुँदा केही दिन समस्या देखिएको बताउँदै बढीमा एक साताभित्र वितरण सहज हुने दाबी गरे ।
यद्यपि, उपत्यकासहित विभिन्न क्षेत्रमा उपभोक्ताले ग्यास सहजै नपाएको गुनासो गरेका छन् ।
निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक भण्डारण नगर्न र ग्यास नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै, घरायसी उपभोक्तालाई प्राथमिकता दिन र बिक्रीको विवरण व्यवस्थित राख्न बिक्रेतालाई निर्देशन दिएको छ ।


विश्व खबर 




















