काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार भारतले गाजामा प्रयोग हुन सक्ने उच्च जोखिमका बाबजुद इजरायललाई हतियार, गोलाबारुद र तिनका पार्टपुर्जा आपूर्ति जारी राखेको छ ।
सन् २०२३ अक्टोबर ७ यता भारतबाट इजरायल पठाइएका २,५९६ वटा ढुवानीको विश्लेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार भारतीय कम्पनीहरूले साना हतियारका लाखौं पार्टपुर्जा, विस्फोटक हतियारका कम्पोनेन्ट तथा सैन्य सवारीसाधनका सामग्री इजरायली आपूर्तिकर्तालाई उपलब्ध गराएका छन् ।
एम्नेस्टीले भारत–इजरायल रक्षा सहकार्य इजरायली सैन्य अभियानको आपूर्ति शृंखलामा महत्वपूर्ण बन्दै गएको जनाएको छ ।
संस्थाले यी सामग्री गाजामा प्यालेस्टिनी नागरिकविरुद्ध प्रयोग हुन सक्ने गम्भीर जोखिम रहेको भन्दै भारतलाई मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।
इजरायलले २०२३ यता ७३ हजार ८०० प्यालेस्टिनी मारेको छ भने हालसम्म १ लाख ४५ हजार बढी घाइते छन् ।


विश्व खबर 




















