नयाँदिल्ली– भारतमा १०० करोड भारतीय रुपैयाँभन्दा बढी आय घोषणा गर्ने उद्यमीको संख्या चार वर्षमा चार गुणाभन्दा बढीले बढेको छ ।
लोकसभामा वित्त राज्यमन्त्री पंकज चौधरीले दिएको जानकारीअनुसार सन् २०२१–२२ मा १४२ जना रहेका यस्ता करदाताको संख्या सन् २०२५–२६ मा बढेर ५७६ पुगेको हो ।
यो वृद्धिले भारतीय अर्थतन्त्रमा उद्यमशीलता, लगानी र व्यवसाय विस्तारको गति बढिरहेको संकेत गरेको छ ।
उत्पादन, डिजिटल अर्थतन्त्र, स्टार्टअप, पूर्वाधार र सेवा क्षेत्रमा भएको विस्तारलाई यसको मुख्य कारण मानिएको छ ।
तर, विज्ञहरूले आर्थिक वृद्धिको लाभ समाजका सबै वर्गसम्म पुगेको छ कि छैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।
विश्वव्यापी असमानता प्रतिवेदन–२०२६ अनुसार भारतको १ प्रतिशत जनसंख्यासँग देशको ४० प्रतिशत सम्पत्ति रहेको उल्लेख छ ।
अर्थात्, नयाँ अर्बपति बढ्नु उपलब्धि भए पनि वास्तविक सफलता आर्थिक अवसर र समृद्धिको न्यायपूर्ण वितरणमा निर्भर रहने विश्लेषण गरिएको छ ।


विश्व खबर 

















