किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रूसले ठूलो आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएको केही घण्टाभित्रै रूसले राजधानी किएभसहित युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
युक्रेनी वायुसेनाका अनुसार बिहीबार बिहान रूसले किएभतर्फ ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।
आक्रमणमा राजधानीमा कम्तीमा एक जनाको मृत्यु भएको किएभको सैन्य प्रशासनले जनाएको छ ।
किएभबाहेक ड्निप्रो र क्रिभी रिह सहर पनि रुसी आक्रमणको निसानामा परेका छन् ।
क्रिभी रिहनजिकैको रादुश्ने गाउँमा भएको आक्रमणपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा शव देखिएको भिडियो सार्वजनिक भएको छ भने घटनास्थलमा आगोसमेत बलिरहेको छ ।
युक्रेनी वायुसेनाले रणनीतिक विमानबाट क्रुज क्षेप्यास्त्रका विभिन्न चरणमा प्रहार भइरहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो ।
दक्षिणी रूसको नोभोरोसिस्क क्षेत्रबाट पनि क्रुज क्षेप्यास्त्र प्रहार भएको पत्ता लागेको छ ।
किएभका मेयर भिटाली क्लिच्कोले थप आक्रमणको जोखिम कायमै रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा परिवारहरू किएभको मेट्रो स्टेसनभित्र आश्रय लिइरहेको देखिन्छ ।
रुसको आक्रमणबाट आफ्नो हवाई क्षेत्र जोगाउन पोल्यान्डले पूर्वसावधानी स्वरूप लडाकु विमान परिचालन गरेको पोल्यान्डका सशस्त्र सेनाले जनाएको छ ।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि भएको हो ।
जेलिन्स्कीले सो भेटमा रुसी आक्रमण रोक्न युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पसँग आग्रह गरेका थिए ।
यसअघि जेलिन्स्कीले आफ्नो वायुसेनाबाट रुसले युक्रेनका सबै क्षेत्रलाई लक्षित गरी ठूलो आक्रमणको तयारी गरिरहेको सूचना प्राप्त भएको बताउँदै ुआज राति नै आक्रमण हुने सम्भावना उच्च रहेकोु चेतावनी दिएका थिए ।


विश्व खबर 




















