काठमाडौं– दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार परियोजना सञ्चालन गरिरहेका व्यवसायी बालकृष्ण शिवाकोटीको अगुवाइमा रसुवा र अर्घाखाँचीमा दुई नयाँ धार्मिक पर्यटन केन्द्रित केबलकार आयोजना अघि बढाइने भएको छ ।
दुवै परियोजनामा गरी कुल रु ११ अर्ब ३१ करोड ८ लाख ४० हजार लगानी हुने प्रस्ताव गरिएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष तथा नेकपा (एमाले) नेता शिवाकोटीले सूर्यकुण्ड–गोसाइँकुण्ड केबलकार र सुपा देउराली केबलकार निर्माणका लागि उद्योग विभागमा कम्पनी दर्ता गरिसकेको बताएका छन् ।
उनले लाइसेन्स तथा अन्य सरकारी स्वीकृतिका प्रक्रिया लामो हुने भएकाले निर्माण सुरु हुने मिति यकिन नभए पनि लगानी व्यवस्थापन गरेर परियोजना अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए ।
उद्योग विभागमा दर्ता भएको विवरणअनुसार रसुवामा प्रस्तावित सूर्यकुण्ड–गोसाइँकुण्ड केबलकारको अनुमानित लागत रु १० अर्ब १ करोड ८ लाख ४० हजार रहेको छ ।
यसमध्ये रु ९९ करोड १ लाख ८४ हजार विदेशी लगानी र रु १० करोड स्वदेशी लगानी रहने उल्लेख गरिएको छ भने बाँकी रकम ऋण तथा अन्य वित्तीय स्रोतबाट जुटाइने योजना छ ।
परियोजनाले वार्षिक ४ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ ।
त्यसैगरी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ मा प्रस्ताव गरिएको सुपा देउराली केबलकारको कुल लागत १ अर्ब ३० करोड अनुमान गरिएको छ ।
यसमा १ अर्ब २८ करोड विदेशी लगानी र २ करोड स्वदेशी लगानी रहने प्रस्ताव छ ।
वार्षिक ५ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखिएको यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया समेत अघि बढिसकेको जनाइएको छ ।
गोसाइँकुण्डमा सबैभन्दा ठूलो लगानी
शिवाकोटीको सबैभन्दा ठूलो लगानी रसुवाको गोसाइँकुण्ड क्षेत्रमा केन्द्रित हुनेछ ।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र समुद्री सतहबाट करिब ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र तीर्थस्थल मानिन्छ ।
जनैपूर्णिमाका अवसरमा नेपाल र भारतबाट हजारौं श्रद्धालु यहाँ पुग्ने गर्छन् ।
हाल गोसाइँकुण्ड पुग्न लामो पदयात्रा गर्नुपर्ने भएकाले वृद्धवृद्धा, अशक्त तथा धेरै श्रद्धालुका लागि यात्रा कठिन हुने गरेको छ ।
केबलकार निर्माण भए धार्मिक पर्यटनसँगै हिमाली पर्यटनमा पनि नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
साथै हेलम्बु, रसुवा र आसपासका क्षेत्रमा होटल, होमस्टे, यातायात, कृषि तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ ।
सुपा देउरालीमा तीर्थयात्रा सहज हुने अपेक्षा
अर्घाखाँचीको सुपा देउराली मन्दिर पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ ।
दसैं, चैते दसैं, नवरात्रलगायत पर्वमा ठूलो संख्यामा भक्तजन यहाँ पुग्ने गर्छन् ।
सडक पहुँच विस्तारसँगै दर्शनार्थीको संख्या बढे पनि उकालो चढ्नुपर्ने र भीड व्यवस्थापनको समस्या रहँदै आएको छ ।
प्रस्तावित केबलकार निर्माण सम्पन्न भए तीर्थयात्रा सहज हुनुका साथै अर्घाखाँचीको पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार र रोजगारीमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
धार्मिक पर्यटनमा निजी क्षेत्रको बढ्दो आकर्षण
मनकामना, चन्द्रागिरि, मौलाकालिका र कालिञ्चोक केबलकारको सफल सञ्चालनपछि नेपालमा धार्मिक तथा पर्यटकीय गन्तव्यलाई केबलकारमार्फत जोड्ने निजी लगानी तीव्र रूपमा बढिरहेको छ ।
शिवाकोटीले अघि बढाएका यी दुई आयोजना पनि यही विस्तार रणनीतिको निरन्तरता मानिएको छ ।
दुवै परियोजना निर्माण चरणमा प्रवेश गर्नुअघि वातावरणीय स्वीकृति, वन तथा राष्ट्रिय निकुञ्ज अनुमति, स्थानीय समुदायसँगको समन्वय तथा वित्तीय व्यवस्थापनलगायतका कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ ।
कालिञ्चोक मोडलको विस्तार
शिवाकोटी नेतृत्वको कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको कालिञ्चोक केबलकार नेपालको सफल धार्मिक पर्यटन परियोजनामध्ये एक मानिन्छ ।
केबलकार सञ्चालनअघि भक्तजनले कुरीबाट करिब तीन घण्टा उकालो पैदल यात्रा गर्नुपर्ने अवस्था थियो ।
अहिले केही मिनेटमै कालिञ्चोक भगवती मन्दिर पुग्न सकिने भएपछि दर्शनार्थी र पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
गोसाइँकुण्ड र सुपा देउराली परियोजना सफल भए नेपालमा धार्मिक पर्यटन पूर्वाधार विस्तारको अर्को ठूलो चरण सुरु हुने विश्लेषण गरिएको छ ।


विश्व खबर 




















